नियम ३९क
कार्य सम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा गरिने बढुवा सम्बन्धी विशेष व्यवस्था
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको श्रेणीका पदमा कम्तीमा देहाय बमोजिमको सेवा अवधि पूरा गरेका शिक्षकले सेवा प्रवेश गर्दा निर्धारित ‍आवश्यक न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो शैक्षिक योग्यता सेवा प्रवेश हुनु भन्दा अघि वा पछि प्राप्त गरेको भए त्यस्तो शिक्षकलाई एक श्रेणी माथिको पदमा बढुवा गरिनेछः–
(क) प्राथमिक तृतीय श्रेणी –१० वर्ष
(ख) प्राथमिक द्वितीय वा निम्न माध्यमिक तृतीय श्रेणी – १२ वर्ष
(ग) निम्न माध्यमिक द्वितीय वा माध्यमिक तृतीय श्रेणी – १५ वर्ष
(घ) माध्यमिक द्वितीय श्रेणी – १८ वर्ष
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका द्वितीय र तृतीय श्रेणीका शिक्षकले एउटै श्रेणीको स्थायी पदमा क्रमशः १३, १५ र १८ वर्ष वा सो भन्दा बढी सेवा अवधि पूरा गरी सेवा प्रवेशका वखत निर्धारित विषयमा न्यूनतम
शैक्षिक योग्यता प्राप्त गरेको भए त्यस्तो शिक्षकलाई एक श्रेणी माथिको पदमा बढुवा गरिनेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको प्रथम श्रेणीको शिक्षक र देहायको अवस्थामा कुनै पनि शिक्षक बढुवा हुन सक्ने छैनः–
(क) नियम २७ को प्रतिबन्धात्मक वाक्यांशको अवस्थामा,
(ख) शिक्षकले नियम २८ को उपनियम (२) को खण्ड (घ) को उपखण्ड (४) बमोजिमको मूल्याङ्कन वा शैक्षिक सत्र २०६५ वा २०६६ को कार्य सम्पादन मूल्याङ्कनमध्ये कुनै एकमा कम्तीमा पचहत्तर प्रतिशत अङ्क प्राप्त नगरेको अवस्थामा ।
(४) उपनियम (१) वा (२) बमोजिम बढुवा गरिएको शिक्षकको अभिलेख आयोगले अद्यावधिक गरी सोको जानकारी शिक्षक किताबखानालाई समेत दिनु पर्नेछ ।
(५) यस नियम बमोजिम बढुवा भएको शिक्षक जुनसुकै कारणले सेवाबाट अवकाश भएमा वा निज माथिल्लो पदमा बढुवा भएमा निजको पद सम्बन्धित तहको तृतीय श्रेणीमा कायम हुनेछ ।
(६) यस नियम बमोजिमको बढुवा एक पटकको लागि मात्र गरिनेछ र आयोगले बढुवा सम्बन्धी कार्य संवत् २०६८ साल चैत्र मसान्त मित्र सम्पन्न गर्नु पर्नेछ ।
(७) कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा गरिने बढुवाको दरखास्त आव्हान गर्ने, नतिजा प्रकाशन गर्ने प्रकृया र अवधि, बढुवा उपरको उजूरीको कार्यविधि सम्बन्धी अन्य व्यवस्था आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।